Blog

ठेलामा राखेर मसानघाट लगियाे नायिका विमीको शव : श्रीमान्‌ले छोडे, प्रेमीले गराए देह व्यापार, ३४ वर्षमा मृत्यु

२२ अगस्ट सन् १९७७, आजभन्दा ठिक ४६ वर्ष अघि ४० को दशककी चर्चित अभिनेत्री विमीको शव ठेलामा देखेर जो कोही पनि चकित परे । उनको मृत्यु भइसकेको थियो र एक व्यक्तिले उनलाई ठेलामा राखेर मसान घाट लगिरहेका थिए ।

विमी आफ्नो जमानाकी सबैभन्दा धनी अभिनेत्री थिइन् । उनलाई फिल्ममा काम गराउन निर्माता उनको घर बाहिर लाइन लागेर बस्ने गर्दथे । हमराज फिल्मको चर्चित गीत ‘न मुंह छिपा के जिओ और न सिर झुका के जियो’ विमीमाथि नै छायाङ्कन गरिएको थियो । तर धन, सफलता र चर्चाले भरिएको जीवनको अन्त्य निकै पीडादायी रह्यो । पहिला श्रीमानले साथ छोडे त्यसपछि जसलाई साथी बनाइन् उसैले पैसा कमाउनका लागि विमीलाई देह व्यापारमा धकेले । रक्सीको लतले शरीर पनि बरबाद हुँदै गयो र आर्थिक समस्या यस्तो थियो कि नायिका एक अस्पतालको जनरल वार्डमा जीवन र मृत्युबीच लडिरहिन् । मृत्यु हुँदा न कोही आफन्त आए न कुनै साथी ।

आज विमीको मृत्यु भएको ४६ वर्ष भयो । त्यस दिनको सम्झनामा उनको जीवन र पीडादायी अन्त्यको कहानी पढौँ ।

श्रीमान्‌काे सहयोगमा विमी फिल्ममा आइन्

विमीको जन्म सन् १९४३ मा पञ्जाबको जालन्धरमा स्वतन्त्रताका लागि युद्ध चलिरहेका बेला भएको थियो । सानै उमेरमा विमीले त्यस समयका चर्चित उद्योगपतिका छोरा शिव अग्रवालसँग विवाह गरिन् । विमीका आमाबाबु उनीहरूको विवाहको राजी थिएनन् । यस विवाहबाट विमीका दुई सन्तान भए ।

पतिसँग कलकत्ताको एक पार्टीमा पुगेकी विमीको भेट सङ्गीत निर्देशक रविसँग भयो । रवि विमीको सौन्दर्यमा मोहित थिए । रविले विमीलाई भने – तपाईं फिल्ममा किन काम गर्नुहुन्नँ ? जवाफ आयो ‘म दुई सन्तानकी आमा परेँ, मलाई फिल्ममा काम कसले दिने ?’

रविले विमी र उनका पति शिवलाई मुम्बई आउन निम्तो दिन्छन् र त्यहाँ उनले बीआर चोपडासँग उनीहरुको भेट गराइदिए ।  यहीँबाट बीआर चोपडाले उनलाई पहिलो फिल्म ‘हमराज’ अफर गरेका थिए ।

परिवारको विरुद्धमा गएर अभिनेत्री बन्ने निर्णय गरिन्

विमीले फिल्ममा काम गरोस् भन्ने उनको परिवारले चाहँदैनथ्यो तर  उनले श्रीमानको साथ भने पाइन् ।  शिवले आफ्ना आमाबाबुलाई छोडेपछि उनलाई सम्पत्तिबाट निष्कासित गरियो र घरबाट निकालियो । त्यसपछि घर चलाउने सम्पूर्ण जिम्मेवारी विमीको काँधमा परेको थियो ।

पहिलो फिल्मबाटै विमी रातारात स्टार बनिन्

विमीले सन् १९६७ मा रिलिज भएको फिल्म हमराजबाट हिन्दी सिनेमामा डेब्यु गरेकी थिइन् । फिल्ममा राजकुमार, सुनील दत्त र मुमताज मुख्य भूमिकामा थिए तर अधिकांशको नजर विमीको सुन्दरतामा थियो । पहिलो फिल्मपछि विमीलाई साइन गर्न निर्देशक र निर्माताहरू घरबाहिर लाइन लाग्न थाले ।

हमराज पछि, विमीले अशोक कुमारसँग आबरु, निरुपा रोय, पृथ्वीराज कपूरसँग नानक नाम जहाज है, शशि कपूरसँग पतंगा र वचन जस्ता फिल्महरू गरिन् । विमी जया बच्चन र धर्मेन्द्र स्टारर गुड्डीमा पनि सानो भूमिकामा देखिएकी थिइन् । त्यतिबेला विमीले हरेक फिल्मका लागि ३ लाख भारु लिने गर्थिन् ।

परीको कथाबाट डरलाग्दो सपना बन्यो विमीको जीवन

फिल्म हमराजपछि विमी स्टार भइन् । उनीसँग धेरै ठूला अफरहरू थिए, पतिको समर्थन, प्रसिद्धि र लाखौं फ्यान ।

सफलताले विमी मात्तिइन्

बीआर चोपडासँग फिल्ममा प्रवेश गरेकी विमीले उनीसँग तीन फिल्मका लागि सम्झौता गरिन्  । त्यतिबेलासम्म पति शिवले विमीको सेक्रेटरी बनेर उनको फिल्ममा हस्तक्षेप गर्न थालेका थिए ।

विमीलाई धेरै फिल्मबाट अफर आएको थियो तर बीआर चोपडाको सम्झौताका कारण उनले फिल्म साइन गर्न सकेकी थिइनन् । विमी र शिवले बीआर चोपडालाई सम्झौता रद्द गर्न तनाव दिन थाले ।

विमीले त्यतिबेला बीआर चोपडाको फिल्म सुटिङ गर्नुपर्ने थियो तर उनले अन्तिम समयमा बाहिर सुटिङ नगर्ने भन्दै अस्वीकार गरिन् । बीआर चोपडा तुरुन्तै विमानबाट उनको घर पुगे । दुवैबीच झगडा भयो र अन्ततः बीआर चोपडासँग उनकाे सम्झौता ताेडियाे  ।

लगातार फ्लप हुँदा सडकमै आइन्

विमी कुल १० वटा फिल्ममा देखा परिन्, जसमध्ये अधिकांश फ्लप भइरहेको थियो । पहिलो फिल्मपछि उनलाई धेरै अफर आए, तर केही फ्लप भएपछि निर्माताले उनलाई अफर गर्न हिच्किचाए ।  चलचित्र पाउन क्रमशः बन्द हुँदै गयो  र उनले कमाएकाे सबै सम्पत्ति सकियो । फिल्मबाट निराश, विमीले कलकत्तामा विमी टेक्सटाइल कम्पनी खोलिन्, तर त्यो पनि ऋणमा डुब्यो ।

पैसा कमाउन नसकेपछि श्रीमानले कुटपिट गर्न थाले

विमी त्यतिबेला जुहुको बंगलामा बस्ने गर्दथिन्, तर पैसा कमाउने माध्यम बन्द भएपछि गाउँमा गएर सामान्य जीवन बिताउन थालिन् । आर्थिक संकटका कारण पति शिव रक्सीको लतमा परे र विमीमाथि कुटपिट गर्न थाले । शिवले विमीलाई साना निर्मातासँग स–साना फिल्ममा काम गर्न दबाब दिन्थे ।

निर्माताले साथ दिँदा  श्रीमानको घर छोडिन्

त्यहि बेला उनकाे श्रीमानसँगको सम्बन्ध बिग्रियो । त्यसपछि विमी फिल्म निर्माता जोलीसँग प्रेममा परिन् । विमी श्रीमानलाई छाडेर जोलीसँग बस्न थालिन् । यो माया पनि विमीको जीवनमा केही दिन मात्रै टिक्यो । केही दिनमै जोलीले विमीलाई रक्सीको लतमा पारिदिए । विमीको करियर पुरै ध्वस्त भयो ।

रक्सीले विमीको जीवन बर्बाद 

विमीलाई फिल्ममा ल्याउने श्रेय सङ्गीतकार रविलाई दिइन्छ । विमीले रविलाई एकदिन अदालत बाहिर भेटिन् । श्रीमानसँग सम्बन्धविच्छेदको मुद्दाका कारण विमी अदालत पुगेकी थिइन् । यतिबेला विमी रक्सीले पुरै मातेकी थिइन् र उनीसँग प्रेमी जोली पनि थिए । विमीले रविलाई देख्नेबित्तिकै रुँदै श्रीमानको  गुनासो पोख्दै आफ्नो व्यथा सुनाउन थालिन् । रविले उनको श्रीमान् शिवसँग कुरा गर्ने भन्दै उनलाई सान्त्वना दिए  । यो भेटपछि रवि साङ्गीतिक कन्सर्टका लागि विश्व भ्रमणमा निस्किए । तर उनी फर्कनु अघि नै  विमीको मृत्यु भयो ।

विमीले जोलीको निर्देशनमा निर्मातासँग समय बिताउने गर्थिन्

काम दिलाउने नाममा जोलीले विमीलाई अन्य निर्मातासँग सुत्न बाध्य पारेको खबर पनि आएको थियो । मायामा परेकी विमीले उनको कुरा स्वीकार गर्दै निर्मातालाई भेट्न जान थालिन् । विमीका नजिकका साथी कृष्णाले पनि उनी निर्मातालाई भेट्न विभिन्न होटलमा जाने गरेकाे र  वेश्यावृत्तिमा लागेको बताइन्  ।

विमी जलीकाे कुरा मान्दै गइन्, जलीले उनलाई यातना दिइरहे । आजित विमीले जोलीसँग सबै सम्बन्ध तोडिन् तर त्यतिन्जेल उनी रक्सीको लतमा फसिसकेकी थिइन् ।  करियर, व्यापार सबै बर्बाद भयो । विमी लाइमलाइटबाट टाढा भइन् र एक्लै बस्न थालिन् । रक्सीको लत नै उनको मृत्युको कारण बन्यो ।

रक्सीले पीडादायी मृत्यु दियो

३४ वर्षको उमेरमा विमीको कलेजो पुरै बिग्रिसकेको थियो । रोगको उपचार गर्न पैसा थिएन । जसो तसो जोलीले नै उनलाई मुम्बईको नानावती अस्पतालको जनरल वार्डमा भर्ना गरिदिए । जहाँ २२ अगस्त सन् १९७७  मा विमीको मृत्यु भयो । अस्पतालमा भर्ना भएकी विमीलाई अस्पतालमा काेही भेट्न आएनन्, उनीबारे कसैले सोधीखोजी गरेनन् ।

शवलाई ठेलामा राखेर श्मशान घाट

अवस्था यति नाजुक थियो कि विमीलाई अस्पतालबाट शवदाह गृहसम्म लैजाने वा उनको शवलाई काँध दिने कोही पनि भएन । अन्तत, जोलीले नै एकजना चिया बेच्ने व्यक्तिसँग केही समयका लागि ठेला मागे र त्यसैमा राखेर विमीको शवलाई शवदाह गृहमा लगे । मृत्युको खबर पाएपछि अन्तिम संस्कारमा एसडी नारङका भाइ, निर्माता तेजनाथ जारसहित ९ जना पुगेका थिए ।

मृत्यु हुनुभन्दा ५ दिनअघि शरीरमा चोटको निशान

विमीको मृत्युपछि बीआर चोपडाले एक अन्तरवार्तामा मृत्यु हुनुभन्दा ५ दिनअघि विमी उनीसँग माफी माग्न पुगेको खुलासा गरे । उनका अनुसार विमी त्यतिबेला धेरै मातेको अवस्थामा थिइन् र उनको शरीरबाट सस्तो रक्सीको गन्ध आइरहेकाे  थियो  । उनले गहिरिएर हेर्दा विमीको हात र शरीरमा गहिरो चोटका निशानहरू देखे । विमी त्यतिबेला निकै निराश देखिन्थिन् ।

जीवन भन्दा मृत्यु धेरै आरामदायी थियो

विमीको घनिष्ठ मित्र कृष्णले विमीको मृत्युलाई उनकाे पेनकिलर बताए । उनका अनुसार विमीले जुन भयावह स्थितिमा जीवन बिताइन्, त्योभन्दा थुप्रै गुणा उनका लागि मृत्यु राम्रो थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button