भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण निन्दनीय : देउवा, कडा कारवाही गर्न माग

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर नर्समाथि भएको आक्रमणको निन्दा गरेका छन्। महामारीका बेला जोखिम मोले काम गर्ने स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु दुखद भएको उल्लेख गर्दै देउवाले घटनाको निन्दा गरेका हुन्।

घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाहीको मागसमेत देउवाले गरेका छन्। सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो। यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिनरात खटेका छन्। स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु।’

कोरोना संक्रमितको मृत्युपछि अस्पतालले उपचारमा लापरवाही गरेको भन्दै मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेको बताइएको छ। दाङका ५३ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा बिहीबार राति ७ बजे मृत्यु भएको थियो । जेठ ४ बाट उपचाररत रावतको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको प्रहरीले जनाएको छ। तोडफोडमा उत्रेकालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस

Show More

सम्बन्धित सबै

Back to top button